कक्षा ११ एकाइ ९ पाठ :3 जनसङ्ख्या र विकास

 

कक्षा ११ एकाइ ९
पाठ :3
जनसङ्ख्या र विकास
जनसङ्ख्या दुईओटा शब्दहरू 'जन' र 'सङ्ख्या' मिलेर बनेको शब्द हो । यसमा 'जन' को अर्थ मानिस
र ‘सङ्ख्या'को अर्थ गणना गर्दाको परिमाण भन्ने हुन्छ । यसका आधारमा जनसङ्ख्याको अर्थ गणना
गर्दा आउने मानिसहरूको परिमाण भन्ने बुझिन्छ । अतः
कुनै खास ठाउँमा कुनै निश्चित समयमा बसोबास गर्ने मानिसहरूको कुल सङ्ख्यालाई जनसङ्ख्या
भनिन्छ।
विकासको शाब्दिक अर्थ उन्नति वा प्रगति हो । कुनै व्यक्ति, संस्था, समाज वा राष्ट्रको भौतिक, मानसिक,
बौद्धिक उन्नति हुनुलाई विकास भनिन्छ । मानवीय चाहनाहरू परिपूर्ति गरी सुख, सुविधा बढाउन विद्यमान
प्राकृतिक, भौतिक, मानवीय र सांस्कृतिक स्रोतहरूको रचनात्मक, सकारात्मक र सन्तुलित रूपमा
प्रयोग गरी जीवनमा सुधार ल्याउनु नै विकास हो । विकास एक गतिशील प्रक्रिया हो ।

जनसङ्ख्या र विकास एकअर्काका पूरक हुन् । यी दुवैबिच अन्योन्याश्रित सम्बन्ध रहेको छ । जनसङ्ख्या
विकासको आधारभूत तत्त्व हो । जनसङ्ख्याले देशमा उपलब्ध स्रोतसाधनको परिचालन गरी विकासको
गतिलाई अगाडि बढाउन मदत गर्दछ । जनसङ्ख्याको वृद्धिसँगै मानिसले जीवनयापनका सरलीकृत र
वैकल्पिक उपायहरू खोज्ने क्रमसँगै विकासको प्रक्रियाले गति लिन्छ । जनसङ्ख्यालाई विकाससँग
एकाकार गरेर लैजानुपर्दछ । जनसङ्ख्यालाई विकाससँग एकाकार गरेकै कारण कतिपय मुलुकले
विकासमा फड्को मारेका छन् । विकास गर्नका लागि निर्माण कार्यहरू हुनुपर्छ, उद्योगधन्दाहरू
खोलिनुपर्छ, नयाँ नयाँ तौरतरिकाहरू र प्रविधिहरूको खोजी एवम् प्रयोग हुनुपर्छ ।
नेपालको जनसङ्ख्याको स्थिति
देशको जनसङ्ख्याबारे ज्ञान र
चेतना जगाउनका लागि राज्यले जनसङ्ख्याको स्थिति पत्ता लगाई जनसङ्ख्याको विवरण सार्वजानिक
गरेको हुन्छ । जनगणना, नमुना सर्वेक्षण प्रशासकीय लागत, जन्ममृत्यु दर्ता प्रणाली आदि
जनसङ्ख्याको स्थिति पत्ता लगाउनका लागि भरपर्दा विधिका रूपमा लिइन्छ । कुनै पनि देशको
जनसङ्ख्याको आकार, वृद्धि, जनघनत्व बनोट, वितरण आदि जनसङ्ख्याको स्थितिअन्तर्गत अध्ययन गरिन्छ।

नेपालमा सर्वप्रथम वि.सं. १९६८ सालमा जनगणना लिइएको थियो । त्यसपछि सामान्यत
प्रत्येक १०-१० वर्षमा जनगणना लिइँदै आएको छ । वि.सं. २०६८ को जनगणना एघारौँ जनगणना हो ।

Comments