Skip to main content

एकाइ १० कक्षा ११ पाठ :१ नेपालको अर्थतन्त्रका आधार र विशेषताहरू

 

एकाइ १० कक्षा ११
पाठ :१
नेपालको अर्थतन्त्रका आधार र विशेषताहरू
१. नेपालको अर्थतन्त्रका आधार
विश्वमा पाइने धेरै प्रकारका हावापानी, वनस्पति र
धरातलीय स्वरूप यहाँ पाइन्छन् । नेपालमा प्रशस्त जल विद्युत् निकाल्न सकिने अपार जल स्रोतको
भण्डार  रहेको छ। हावापानी र प्राकृतिक सुन्दरताका कारण पर्यटन व्यवसायको पनि ठुलो सम्भावना रहेको छ ।
औद्योगिकीकरणको पनि उत्तिकै सम्भावना छ । यति ठुलो सम्भावना भएर पनि नेपालले त्यसको पर्याप्त
उपयोग गर्न अझै धेरै काम गर्न बाँकी छ । हालको नेपालको अर्थतन्त्रलाई विश्लेषण गर्दा अर्थतन्त्रका
आधारहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :
(क) कृषि
नेपालमा ६०.४ प्रतिशत जनसङ्ख्या कृषिमा आबद्ध छन् अधिकांश नेपालीहरू कृषिलाई सुरक्षित पेसा मान्दछन् किनकि कृषिमा थोरै लगानीमा नै निर्वाहका लागि आवश्यक खाद्यवस्तु प्राप्त गर्न सकिन्छ । नेपालका अधिकांश कृषकको आफ्नै जग्गा भएका कारण पनि यो पेसाबाट बाहिरिन नेपाली कृषकहरूलाई कठिन भएको देखिन्छ । नेपालमा कुल गार्हस्थ उत्पादनमा २७.६ प्रतिशत योगदान कृषिको रहेको छ । त्यसैले नेपालको अर्थतन्त्रको मूल आधार कृषि नै हो भन्न सकिन्छ । नेपालको कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने क्रम बढेको छ । यसका लागि कृषिको व्यवसायीकरण, चकलाबन्दी
खेती, आधुनिक कृषि उपकरणको प्रयोग, उन्नत बिउबिजन तथा मलखादको प्रयोगमा वृद्धि भएको
देखिन्छ । कृषिको विकासमा भएमा यी प्रयासहरूले तीव्रता पाएमा छिट्टै नै नेपालको आर्थिक समृद्धि
हुने देखिन्छ ।
(ख) उद्योग
नेपालमा उद्योग क्षेत्रको विकास अपेक्षाकृत रूपमा हुन नसके पनि यसको योगदान भने महत्त्वपूर्ण छ ग्रामीण क्षेत्रमा कुटीर उद्योगले केही आवश्यकता पूरा गरेको छ भने सहरी क्षेत्रमा साना तथा मझौला उद्योगको बाहुल्य रहेको छ । नेपालको कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान ५.५ प्रतिशत रहेको छ । वि.सं.
२०७५/७६ फागुन सम्ममा नेपालमा ७,८३२ उद्योगहरू सञ्चालनमा रहेका थिए । विदेशी लगानी भित्रिएको
र शिक्षाको विकाससँगै नेपालमा कृषि तथा परम्परागत पेसाबाट उद्योगतर्फ रूपान्तरण हुने क्रम बढेको
देखिन्छ । नेपालमा वि.सं. २०७६ सम्ममा औद्योगिक क्षेत्रबाट करिब छ लाख पन्ध्र हजार जनालाई रोजगारी
मिलेको छ। औद्योगिक उत्पादन बढाउन सकेमा औद्योगिक वस्तु निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न पनि
सकिन्छ। धेरैजसो उद्योगहरू कृषिमा आधारित हुनाले कृषिमा आउने उतारचढावले यसलाई प्रत्यक्ष प्रभाव
पार्दछ। पछिल्लो समयमा ऊर्जामूलक उद्योग, सिमेन्ट उद्योग र निर्माण उद्योगहरूतर्फ लगानीकर्ताको
आकर्षण बढेको देखिन्छ ।
(ग) पर्यटन
नेपालमा विविध प्रकारको हावापानी,
प्राकृतिक सुन्दरता, साहसिक पर्यटनका लागि उपयुक्त अवस्थाहरू विद्यमान छन् । सांस्कृतिक
विविधता, धार्मिक तीर्थस्थलहरू एवम् ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका स्थलहरू रहेकाले विदेशी
पर्यटकको गन्तव्य स्थान बन्न सक्ने ठुलो सम्भावना रहेको छ । विविध प्रकारका प्राकृतिक सौन्दर्यका
कारण यहाँ फिल्मी पर्यटनको पनि ठुलो सम्भावना रहेको छ । पर्यटन उद्योगबाट प्रशस्त विदेशी मुद्रा
आर्जन हुन सक्छ भने देशमा रोजगारीको सिर्जना पनि हुन सक्छ । पर्यटन उद्योगका रूपमा होमस्टे, होटल, रिजोर्ट, लज, रेस्टुरेन्ट, मनोरञ्जन स्थलहरूको विकास भइरहेको छ ।राफ्टिङ, पदयात्रा, हिमाल आरोहण, क्यानोयिङ, माउन्टेन बाइकिङ, बन्जी जम्पिङ, प्यारा ग्लाइडिङ
जस्ता साहसिक पर्यटनको पनि विकास भइरहको छ । त्यस्तै नेपालमा गौतम बुद्धको जन्मस्थान लुम्बिनी,
आराध्यदेव पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधामलगायतका सयौँ तीर्थस्थलहरू रहेकाले धार्मिक पर्यटनको
पनि ठुलो सम्भावना रहेको छ । काठमाडौँ उपत्यकाको पुरातात्त्विक महत्त्वका कलाकृति, सांस्कृतिक
विविधता, प्राकृतिक सुन्दरताले गर्दा नेपाल विश्वभरका पर्यटकहरूको गन्तव्य बन्न सक्छ ।
(घ) जलस्रोत
नेपालका नदीहरूबाट जलविद्युत् उत्पादन गरेर निर्यात गर्न सकेमा नेपालको आर्थिक समृद्धिमा
मदत गर्छ र व्यापार घाटा कम गर्न सकिन्छ । नेपालमा पहाडी भिरालो जमिनबाट बग्ने नदीहरू
प्रशस्त भएकाले जलविद्युत् उत्पादनको ठुलो सम्भावना रहेको छ । आ.व. २०७६/७७ फागुन मसान्त सम्ममा १०८३.१३ मेगावाट जलविद्युत्
उत्पादन भएको छ । हालसम्म निर्माणाधीन रहेका, अनुमति पाएका र अनुमतिका लागि निवेदन दिएका
आयोजनाको समेत कुल २९,५७७.८ मेगावाट विद्युत् उत्पादनको तयारीमा रहेको देखिन्छ । नेपाल सरकारले वि.सं. २०७५ ८५ लाई ऊर्जा तथा जलस्रोत दशकका रूपमा मनाउने निर्णय गरेको छ ।
यसले देशभित्रै औद्योगिकीकरण गर्नसमेत सहयोग पुग्छ । विद्युत् प्रसारण र निर्यातका लागि आन्तरिक
र अन्तरदेशीय विद्युत् प्रसारण लाइनहरूको निर्माण कार्य पनि तीव्र रूपमा अघि बढिरहेको छ ।
नेपालका नदीहरूको पानीलाई नहरद्वारा पहाडका बेंसी, भित्री मधेस र तराईका उर्वर भूमि तथा
फाँटहरूमा पुऱ्याएर सिँचाइ गरी कृषि उत्पादकत्व बढाउन सकिन्छ ।
(ङ) मानव संसाधन
जुनसुकै देशको अर्थतन्त्रमा त्यस देशका मानव संसाधनको ठुलो भूमिका हुन्छ । कृषि, उद्योग, पर्यटन,
व्यापारलगायतका सबै गतिविधि मानवले नै सञ्चालन गर्ने हो । जहाँ मानव संसाधन व्यापक परिचालन हुन्छ त्यस देशको आर्थिक प्रगति पनि तीव्र हुन्छ । नेपालमा सक्रिय जनसङ्ख्या बढी भएको हुनाले यहाँको जनशक्तिको उपयोग गर्न सके देशको विकास छिट्टै हुन सक्छ । नेपालमा मानव
स्रोतलाई विभिन्न प्रकारले उपयोग भएको पाइन्छ । केही मानव स्रोतलाई स्वदेशभित्र नै रोजगारीका
अवसरहरू सिर्जना गरी क्रियाशील बनाइएको छ । केही जनशक्ति स्वरोजगारमा संलग्न भएका छन्

देशमा उपलब्ध मानव संसाधानको सदुपयोग गर्नका लागि राज्यले स्वदेशभित्र नै रोजगारीका अवसर
सिर्जना गर्न सक्नुपर्दछ । यसका लागि प्राविधिक शिक्षामा जोड, कृषिको आधुनिकीकरण, उद्योगको
विस्तार, सेवा क्षेत्रको विस्तार र पर्यटन क्षेत्रको विकास गर्नुपर्दछ । देशमा उपलब्ध जनशक्तिलाई शिक्षा,
व्यावसायिक सिप, पुँजी र उद्यमशीलताको माध्यमबाट स्वदेशमा नै सक्रिय रहने वातावरण बनाउनुपर्दछ ।
२. नेपालको अर्थतन्त्रका विशेषता
नेपालसँगसँगै आर्थिक विकासमा अघि बढेका समान हैसियत राख्ने देशहरू अहिले विश्वका विकसित
देशका रूपमा रूपान्तरण हुन सफल भएका छन् । उनीहरूले त्यो अवस्था कसरी हासिल गरे र हामीले
किन सकेनौँ भन्ने चिन्तन गर्नु जरुरी भएको छ यस अवस्थाबाट मुक्त हुने उपायको खोजी गर्नु जरुरी
छ। समग्रमा नेपालको अर्थतन्त्रको विशेषताहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :
(क) निर्वाहमुखी कृषि प्रणाली हुनु
देशको ठुलो जनशक्ति कृषि र पशुपालनमा संलग्न रहेको छ । परम्परागत सोच र प्रविधिमा आधारित
निर्वाहमुखी कृषि प्रणाली कायम भएका कारण न्यून उत्पादकत्व अवस्था छ ।
(ख) औद्योगिकीकरणमा सुस्तता
नेपालको उद्योगहरूको विकासको गति सुस्त रहेको छ । धेरैजसो उद्योगहरू कृषिमा आधारित छन् ।
(ग) न्यून आय तथा जीवनस्तर
बेरोजगार तथा आंशिक रोजगारका कारण न्यून आय र जीवनस्तर भएका जनसङ्ख्या ठुलो रहेको
छ । कृषिमा लुकेको रोजगार कायम रहेको छ ।
(घ) पुँजी र स्रोत साधनका अभाव

पुँजीको अभाव भएकाले लगानी वृद्धि हुन सकेको छैन । उत्पादित दक्ष जनशक्ति विदेश पलायन भएर
जनशक्तिको अभावको अवस्था सिर्जना भएको छ । खनिज, जलस्रोत, माटो, सौर्य ऊर्जा आदि प्राकृतिक
स्रोत साधनको न्यून उपयोगको अवस्था छ ।
(ङ) आयातमुखी अर्थतन्त्र
निर्यातभन्दा बढी मूल्यको आयात गर्नाले वैदेशिक व्यापार घाटा वृद्धि हुँदै गएको छ। परनिर्भरता उन्मुख
आर्थिक प्रणाली कायम रहेको देखिन्छ ।
(च) आयमा असमानता
देशमा २१ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको र केही सीमित वर्गसँग सो आयमा धेरै नै
असमानता देखिन्छ ।

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

  एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस . सामाजिक शिक्षाको परिभाषा लेख्नुहोस्। सामाजिक शिक्षा भनेको व्यक्ति र समाजको बीचमा समन्वय कायम राख्दै व्यक्तिलाई सामाजिक जिम्मेवारीको बोध गराउने शिक्षा हो। . जीवन उपयोगी शिक्षाको उद्देश्य के हो? जीवन उपयोगी शिक्षाको उद्देश्य व्यक्तिलाई आफ्नो दैनिक जीवनमा काम लाग्ने सीप र ज्ञान प्रदान गरी आत्मनिर्भर बनाउनु हो। . सामाजिक शिक्षाले व्यक्तिमा कुन सीपहरू विकास गर्दछ? सामाजिक शिक्षाले सहकार्य, नेतृत्व, समस्या समाधान, आलोचनात्मक सोच, र सामाजिक समायोजनका सीपहरू विकास गर्दछ।  छोटो उत्तर आउने प्रस्न  . WHO ले सन 1999 मा निर्धारण गरेका जिवनोपयोगि सिपका मुख्य क्षेत्रहरुको छोटो व्याख्या गर्नुहोस उत्तर 1 सञ्चार र अन्तरव्यक्तिक सिप: यो सिपले व्यक्तिहरूलाई प्रभावकारी रूपमा विचार, भावना, र जानकारी आदान-प्रदान गर्न मद्दत गर्दछ। यसले राम्रो सम्बन्ध बनाउन र सहकार्य गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। 2 निर्णय गर्ने र समस्या समाधान सिप: यस सिपले समस्याको समाधानका लागि तार्किक रूपमा विचार गरेर निर्णय लिन सहयोग पुर्‍याउँछ। 3 सिर्जनात्मक र समालोचनात्मक ...

Cultural nepali dance

 

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

 कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता 1. सामाजिक सम्बन्ध के हो? व्यक्तिहरू बीचको अन्तर्क्रिया र सम्बन्धलाई सामाजिक सम्बन्ध भनिन्छ। 2. सामाजिक सम्बन्धको विकास कसरी हुन्छ? सामाजिक सम्बन्धहरू व्यक्तिहरू बीचको अन्तर्क्रिया, सहयोग, र समझदारीबाट विकास हुन्छन्। 3. सामाजिक अन्तरनिर्भरता के हो? समाजका सदस्यहरू एकअर्कामा निर्भर रहने अवस्थालाई सामाजिक अन्तरनिर्भरता भनिन्छ। 4. सामाजिक अन्तरनिर्भरता किन आवश्यक छ? यसले समाजमा सहयोग, समझदारी, र एकता बढाउँछ। 5. सामाजिक सम्बन्धको उदाहरण दिनुहोस्। परिवार, साथीभाई, र सहकर्मीहरू बीचको सम्बन्ध। 6. सामाजिक अन्तरनिर्भरताको उदाहरण के हो? कृषकले अन्न उत्पादन गर्छन्, जसलाई उपभोक्ताहरूले उपभोग गर्छन्। 7. सामाजिक सम्बन्ध र अन्तरनिर्भरता बीचको सम्बन्ध के हो? दुवै एकअर्कामा आधारित छन्; सम्बन्धले अन्तरनिर्भरता बढाउँछ, र अन्तरनिर्भरता सम्बन्धलाई मजबुत बनाउँछ। 8. सामाजिक सम्बन्धको विकासमा सञ्चारको भूमिका के हो? प्रभावकारी सञ्चारले समझदारी र विश्वास बढाई सम्बन्धलाई मजबुत बनाउँछ। गार्हपत्य,आहवनिय,र विदथ भन्नाले के बुझिन्छ?  गार्हप...