कक्षा ११ पाठ :८ उमेर संरचनाको सङ्क्रमण र जनसाख्यिक लाभांशको उपयोग
कक्षा ११
पाठ :८
उमेर संरचनाको सङ्क्रमण र
जनसाख्यिक लाभांशको उपयोग
जनसाङ्ख्यिक घटना (जन्म र मृत्यु) का कारणले जनसङ्ख्या वृद्धिदर पनि उच्च, निम्न र स्थिर
हुन्छ । यिनै जनसाङ्ख्यिक घटनाका प्रभावले गर्दा जनसङ्ख्या वृद्धिदर एउटा अवस्थाबाट अर्को अवस्थामा
परिवर्तन हुँदै जान्छ । यही प्रक्रियालाई जनसाङ्ख्यिक सङ्क्रमण भनिन्छ। सन् १९४५ मा F.W. Notyestein ले पहिलो पटक Demographic Transition शब्दको प्रयोग गरेका थिए । जनसाङ्ख्यिक सङ्क्रमणलाई निम्नलिखित तीन भागमा विभाजन गरी व्याख्या गर्न सकिन्छ :
(क) प्रारम्भिक अवस्था
यो जनसाङ्ख्यिक सङ्क्रमणको पहिलो अवस्था हो । यसमा जन्मदर र मृत्युदर दुवै उच्च हुने हुनाले
जनसङ्ख्या बिस्तारै वृद्धि भइरहेको हुन्छ ।
(ख) मध्य अवस्था
यो जनसाङ्ख्यिक सङ्क्रमणको दोस्रो अवस्था हो । यस अवस्थामा व्यक्तिहरू शिक्षित हुनुका साथै स्वास्थ्य
क्षेत्रमा राम्रो प्रगति भएका कारण मृत्युदरमा निकै कमी आइसकेको हुन्छ तर व्यक्तिका अभिवृत्ति तथा
व्यवहारमा खासै परिवर्तन नआइसकेको हुनाले जन्मदर भने उच्च नै रहन्छ । त्यसकारण जनसङ्ख्या
तीव्र रूपले वृद्धि भएको हुन्छ । यस अवस्थालाई विद्वान्हरूले जनसङ्ख्या विष्फोटको अवस्था भन्छन् ।
(ग) आधुनिक अवस्था
यस अवस्थामा मानिसहरू शिक्षित हुनुका साथै आर्थिक तथा सामाजिक क्षेत्रमा विकास भइसकेका
कारण उनीहरू गैरकृषिका क्षेत्रमा संलग्न भएका हुन्छन् । सानो परिवारप्रतिको धारणा लोकप्रिय
भइसकेको हुन्छ। जन्मदर र मृत्युदर दुवै कम भइसकेको हुन्छ । यसको फलस्वरूप जनसङ्ख्या घट्ने क्रममा
हुन्छ । तर कहिलेकाहीँ जन्मदर र मृत्युदरमा घटबढ पनि हुने गर्दछ । यसमा जन्मदर बढी र मृत्युदर
कम भएको अवस्थामा जनसङ्ख्या वृद्धि हुन्छ । त्यसैगरी जन्मदर कम र मृत्युदर बढी भएको अवस्थामा
जनसङ्ख्या घट्छ ।
उमेर संरचनाको सङ्क्रमण (Age Structural Transition )
उमेर वा उमेर समूहअनुसार जनसङ्ख्याको वितरणलाई जनसङ्ख्याको उमेर संरचना भनिन्छ । उमेर
संरचनालाई एक एक बर्से उमेर समूह, पाँच पाँच बर्से उमेर समूह, दश दश बर्से उमेर समूह र बृहत्
उमेर समूहमा वर्गीकरण गरेर अध्ययन गरिन्छ । विशेषगरी नेपालको उमेरअनुसारको जनसाङ्ख्यिक
विश्लेषणमा १४ वर्षमुनिका र ६० वर्षभन्दा माथिका उमेर समूहलाई आश्रित जनसङ्ख्या र १५ देखि
५९ वर्ष उमेर समूहलाई सक्रिय जनसङ्ख्या भनिन्छ ।
बाल आश्रित जनसङ्ख्याबाट, आर्थिक रूपले सक्रिय जनसङ्ख्यामा र आर्थिक रूपले सक्रिय
जनसङ्ख्याबाट वृद्धा आश्रित जनसङ्ख्यामा परिवर्तन हुने यो अवस्था जनसाङ्ख्यिक सङ्क्रमणको एक
विशेष अवस्था हो ।उमेर संरचनाको सङ्क्रमणलाई तीन चरणमा विभाजन गरिन्छ । पहिलो चरणमा मृत्यदर घट्छ र
प्रजनन दर बढ्छ । दोस्रो अवस्थामा प्रजनन दर पनि घट्ने हुनाले बालबालिकाको सङ्ख्या घट्छ र बच्चा जन्माउन तथा काम गर्न सक्ने उमेरको जनसङ्ख्यामा वृद्धि हुन्छ । त्यसैगरी तेस्रो अवस्थामा यदि प्रजनन दरको घट्दो अवस्था यथावत् रहिरहेमा बालबालिका र वयस्कहरूको
सङ्ख्यामा ह्रास आउँछ भने वृद्धवृद्धाको सङ्ख्या बढ्छ जनसाङ्ख्यिक सङ्क्रमणले जनसङ्ख्याको उमेर संरचनालाई प्रभावित पार्दछ । घट्दो जन्मदरले यो
प्रक्रियालाई लामो समयसम्म निरन्तर प्रभाव पार्दछ । त्यसैले उमेर संरचनाको सङ्क्रमण एक लामो
प्रक्रिया पनि हो । यसले वृद्धवृद्धाको सङ्ख्यामा वृद्धि गरी जनसङ्ख्याको पिरामिडलाई पनि प्रभावित
पार्दछ। संसारमा जापानलाई वृद्धवृद्धाको देश भनेर चिनिन्छ किनकि सन् १९५० देखि २०१० सम्ममा
यहाँको जन्मदरमा निरन्तर कमी आएकाले उमेर संरचनामा पनि व्यापक रूपमा परिवर्तन आएको थियो ।
उमेर संरचनाको सङ्क्रमणले आश्रित दरमा पार्ने प्रभाव
उमेर संरचनाको सङ्क्रमणले कुल आश्रित दरमा प्रत्यक्ष प्रभाव पार्दछ । यसले कुल आश्रित दरमा
परिवर्तन ल्याउँछ । जन्मदर कम भयो भने बाल आश्रित दर कम हुन्छ भने जन्मदर बढी भएमा
बाल आश्रित दर बढी हुन्छ । लामो समयसम्म जन्मदर घट्दै गयो भने बाल आश्रित दर पनि घट्दै
जान्छ । तर वृद्धवृद्धाको जनसङ्ख्यामा भने बृद्धि भइरहने हुनाले केही दशकपश्चात् फेरि एक पटक
कुल आश्रित दर बढ्छ ।
उमेर संरचनाको सङ्क्रमणले सामाजिक एवम् आर्थिक क्षेत्रमा पनि प्रत्यक्ष प्रभाव पार्दछ । बालबालिकाको
जनसङ्ख्यामा अत्यधिक वृद्धि भयो भने राज्यले ठुलो मात्रामा शिक्षा तथा स्वास्थ्यमा लगानी गर्नुपर्ने
हुन्छ। त्यसैगरी जब बाल आश्रित जनसङ्ख्या आर्थिक रूपमा सक्रिय जनसङ्ख्यामा परिवर्तित हुन्छ तब
राज्यले उनीहरूलाई आर्थिक उन्नयनमा सदुपयोग गर्ने र वृद्धा अवस्थामा पुऱ्याउनुपर्ने सेवा, सुविधा र
सामाजिक सुरक्षाका बारेमा योजना बनाउनुपर्ने हुन्छ । जनसङ्ख्या वृद्धिको सुरुको अवस्था र अन्तिम
अवस्थामा कुल आश्रित दर एकदमै उच्च हुन्छ । यस अवस्थाको मध्यभागमा आर्थिक रूपमा सक्रिय
जनसङ्ख्यामा भएको वृद्धिले देशको आर्थिक सामाजिक र सांस्कृतिक उन्नतिले गति लिन्छ ।
जनसाङ्ख्यिक लाभांशको उपयोग
जनसङ्ख्याको उमेर संरचनामा परिवर्तनका कारण आश्रित जनसङ्ख्या (१४ वर्ष मुनिका बालबालिका
र ६० वर्षभन्दा माथिका मानिसहरू) भन्दा आर्थिक रूपले सक्रिय जनसङ्ख्या (१५ वर्षदेखि ५९ वर्षका
मानिसहरू) बढी भई आर्थिक वृद्धिको सम्भावना रहने अवस्था आउँछ । यसलाई जनसाङ्ख्यिक लाभांश
भनिन्छ ।जनसाङ्ख्यिक सङ्क्रमणका क्रममा प्रजनन दर कम हुने अवस्था निरन्तर रहिरहेमा कुनै एक निश्चित
समय अवधिसम्म मात्र जनसाङ्ख्यिक लाभांशको अवस्था रहिरहन्छ । यस्तो जनसाङ्ख्यिक लाभांशको
अवस्थाले कुनै पनि देशको आर्थिक उपलब्धि हासिल गर्नलाई अवसर प्रदान गर्ने भएकाले यसलाई
जनसाङ्ख्यिक अवसरको भ्याल (Demographic Window of Opportunity) भनिन्छ । यस्तो
अवस्थामा लगानी र बचतका कारण आर्थिक वृद्धिदर बढ्छ । कुनै पनि देशले यस अवस्थाको सही
सदुपयोग गर्न सकेमा समाज र देशको अर्थ व्यवस्थामा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । नेपालको सन् १९८१ मा कुल प्रजनन दर ६.३ र कोरा
मृत्युदर प्रतिहजार जनसङ्ख्यामा १३.५ थियो भने सन् २०११ मा त्यो सङ्ख्या घटेर कुल प्रजनन दर
४.१ र कोरा मृत्युदर ६ रहेको छ । त्यसैगरी सन् १९८६ मा औसत आयु ४५.३ वर्ष रहेकामा सन्
२०११ मा ६९ वर्ष पुगेको छ । जनसाङ्ख्यिक स्थितिको यस अवस्थाले नेपालमा केही वर्षसम्म आश्रित
जनसङ्ख्याको अनुपातमा आर्थिक रूपले सक्रिय जनसङ्ख्या बढी रहने छ । यस जनसाङ्ख्यिक
सङ्क्रमणको अवस्थाले नेपालमा आर्थिक विकासको सम्भावना प्रबल रहन्छ।
जनसाङ्ख्यिक अध्ययनका विभिन्न प्रतिवेदनअनुसार नेपालमा जनसाख्यिक अवसरको भ्याल
(Demograhic Window of Opportunity) करिब ५५ वर्ष (सन् १९९२ देखि सन् २०४७) सम्म
रहने अनुमान गरिएको छ । यस अवधिको हाल ( सन् २०२०) सम्ममा करिब २८ वर्ष बितिसके
को छ भने २७ वर्ष बाँकी रहेको छ । यस अवधिमा आर्थिक रूपले सक्रिय जनसङ्ख्याको आर्थिक
विकासमा सदुपयोग गर्न सकेमा देशको चौतर्फी विकासका सम्भावना रहन्छन् । यद्यपि जनसाङ्ख्यिक
अवसरको झ्यालको आजसम्मको अवधिलाई अध्ययन गर्दा अधिकांश आर्थिक रूपले सक्रिय जनसङ्ख्या
बेरोजगार रहेको र धेरै सङ्ख्यामा बिदेसिएको देखिनुले देशको आर्थिक विकासमा चुनौती देखिएको छ ।
जनसाङ्ख्यिक लाभांशको उपयोगका लागि निम्न उपायहरू अवलम्बन गर्न सकिन्छ :
देशमा उपलब्ध श्रमशक्तिको अधिकतम उपयोग गरी कुल गार्हस्थ उत्पादन वृद्धि गर्ने
देशको आम्दानी र बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने
दक्ष जनशक्ति उत्पादनमा उचित लगानी गर्ने
समयमै जनशक्ति प्रक्षेपण गरी योजना निर्माण र कार्यान्वयनलाई अगाडि बढाउने
एकीकृत बस्ती विकासमार्फत जनसङ्ख्या व्यवस्थापनलाई सहज बनाउने
भविष्यमा वृद्धि हुने जेष्ठ नागरिकको सङ्ख्यालाई अनुमान गरी सामाजिक सुरक्षाको क्षेत्रमा
लगानी गर्ने आदि ।
Comments
Post a Comment