एकाइ ९ पाठ ६ बसाइँसराइको प्रवृति
एकाइ ९ पाठ ६ बसाइँसराइको प्रवृति
अति छोटो उत्तर दिनुहोस
१. बसाइँसराइका प्रमुख धारहरू के-के हुन्?
गाउँबाट सहर, सहरबाट सहर, गाउँबाट गाउँ, र सहरबाट गाउँमा हुने बसाइँसराइ प्रमुख रहेका छन।
२. बसाइँसराइको धार भनेको के हो?
कुनै निश्चित अवधिमा बसोबासका लागि एक क्षेत्रबाट अर्को क्षेत्रमा हुने मानिसहरूको प्रवाहलाई बसाइँसराइको धार भनिन्छ।
३. बसाइँसराइको अन्तराल के हो?
बसाइँसराइ सम्बन्धी तथ्याङ्क लिनका लागि निर्धारण गरिएको निश्चित समयावधिलाई बसाइँसराइको अन्तराल भनिन्छ।
४. उद्गमस्थल र गन्तव्यस्थल भनेको के हुन्?
बसाइँ सर्ने व्यक्तिको प्रारम्भिक स्थानलाई उद्गमस्थल र बसाइँ सरेर पुग्ने स्थानलाई गन्तव्यस्थल भनिन्छ।
५. विश्वव्यापी बसाइँसराइको प्रवृत्ति कस्तो छ?
संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासी प्रतिवेदन (२०२०) अनुसार, विश्वमा आप्रवासीहरूको संख्या सन् २००० मा १७३ मिलियनबाट बढेर सन् २०२० मा २७२ मिलियन पुगेको छ, जसले अन्तर्राष्ट्रिय बसाइँसराइमा उल्लेख्य वृद्धि देखाउँछ।
६. नेपालमा आन्तरिक बसाइँसराइको प्रमुख धार कुन हो?
नेपालमा पहाडी क्षेत्रबाट तराई क्षेत्रमा हुने बसाइँसराइ प्रमुख धार हो। सन् २०११ मा तराई क्षेत्रमा बसाइँ सर्नेहरूमध्ये ६४% पहाडी क्षेत्रबाट आएका थिए।
छोटो उत्तर दिनुहोस
. विश्वव्यापी बसाइँसराइको प्रवृत्तिको छोटो व्याख्या गर्नुहोस्।
उत्तर: विश्वव्यापी रूपमा बसाइँसराइको प्रवृत्ति बढ्दो छ। संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासी प्रतिवेदन (२०२०) अनुसार, सन् २००० मा १७३ मिलियन आप्रवासीहरू थिए भने सन् २०२० मा यो संख्या बढेर २७२ मिलियन पुगेको छ। यो वृद्धिले अन्तर्राष्ट्रिय बसाइँसराइमा उल्लेखनीय वृद्धि भएको देखाउँछ।
भूमण्डलीकरण, सूचना तथा सञ्चार प्रविधिको विकास, र यातायातको सुविधाले बसाइँसराइलाई थप सहज बनाएको छ। रोजगारी, शिक्षा, र उच्च जीवनस्तरको खोजीमा मानिसहरू एक देशबाट अर्को देशमा सर्ने गरेका छन्। यसका साथै, युद्ध, द्वन्द्व, प्राकृतिक प्रकोप, र जलवायु परिवर्तन जस्ता कारणहरूले पनि मानिसहरूलाई आफ्नो उद्गमस्थल छोड्न बाध्य बनाएको छ।
बसाइँसराइको यो बढ्दो प्रवृत्तिले विश्वव्यापी जनसांख्यिकीय संरचना, आर्थिक विकास, र सामाजिक सम्बन्धमा महत्वपूर्ण प्रभाव पारिरहेको छ। यसले गन्तव्य देशहरूमा सांस्कृतिक विविधता बढाएको छ भने उद्गम देशहरूमा जनशक्ति गुमाउने समस्या उत्पन्न गरेको छ।
यसरी, बसाइँसराइको विश्वव्यापी प्रवृत्ति बहुआयामिक छ र यसले विभिन्न पक्षमा प्रभाव पारिरहेको छ।
नेपालमा अन्तर्राष्ट्रिय बसाइँसराइको प्रवृत्ति ऐतिहासिक, सामाजिक, आर्थिक, र सांस्कृतिक कारणहरूका आधारमा विकास हुँदै आएको छ। विभिन्न समयमा नेपालको जनसङ्ख्या अन्य देशमा अध्ययन, रोजगार, व्यापार, सांस्कृतिक कारण तथा वैवाहिक सम्बन्धका कारण बसाइँ सर्ने गरेको पाइन्छ।
नेपालमा अन्तर्राष्ट्रिय बसाइँसराइका मुख्य प्रवृत्तिहरू उल्लेख गर्नुहोस
इतिहासलाइ हेर्दा सुगौलि सन्धी पछि ब्रिटिश र पछि भारतिय सेनामा नेपाली गोर्खा भर्ती तथा व्यापारका कारण नेपालका मानिसहरू विदेश जाने परम्परा बसेको पाइन्छ। हाल आएर प्रविधिको विकास, यातायातको सहजता, र बैदेशिक रोजगारीका अवसरहरूका कारण बसाइँसराइको दर बढ्दै गएको छ। खासगरी युवा पुस्ता उच्च शिक्षा र रोजगारीका लागि विदेश जाने प्रवृत्तिमा अग्रसर देखिन्छन।
नेपालमा अन्तर्राष्ट्रिय बसाइँसराइका मुख्य प्रवृत्तिहरू निम्नानुसार छन्:
1. शिक्षाका लागि विदेश यात्रा: नेपाली विद्यार्थी उच्च शिक्षा तथा प्राविधिक ज्ञान हासिल गर्न विभिन्न देशहरूमा जाने गरेका छन्।
2. रोजगारीका लागि श्रमिक विदेश यात्रा: मुख्यतः खाडी मुलुक, मलेसिया, कोरिया, जापान, र युरोपेली देशहरूमा कामको खोजीमा जाने नेपालीहरूको संख्या उच्च छ।
3. वैदेशिक कूटनीतिक नियोग मार्फत बसाइँसराइ: कूटनीतिक तथा अन्य सरकारी वा गैरसरकारी कामका लागि विदेश जाने प्रवृत्ति देखिन्छ।
4. अस्थायी र स्थायी बसाइँसराइ: अध्ययन, व्यवसाय, रोजगारी, वा अन्य अवसरहरू खोज्दै जाने नेपालीहरूमध्ये केही अस्थायी रूपमा बस्छन् भने केहीले स्थायी आप्रवासीको रूपमा नयाँ देश रोज्छन्।
5. वैवाहिक सम्बन्धका कारण बसाइँसराइ: अन्तर्राष्ट्रिय विवाहका कारण नेपाली नागरिकहरू अन्य देशहरूमा स्थानान्तरण हुने गरेका छन्।
यसरी, नेपालमा अन्तर्राष्ट्रिय बसाइँसराइ आर्थिक अवसरहरू, शिक्षाको खोजी, सामाजिक सम्बन्ध, तथा ऐतिहासिक परम्पराका कारण निरन्तर जारी रहेको पाइन्छ।
नेपालमा आन्तरिक वसाइँसराइलाइ चरणबद्ध उल्लेख गर्नुहोस।
नेपालको आन्तरिक वसाइँसराइलाइ निम्न अनुसार उल्लेख गरिन्छ।
१. पहिलो चरण:
नेपालमा आन्तरिक वसाइँसराइको सुरुवात परापूर्वकालदेखि भएको पाइन्छ। यो समयमा जनसंख्या राज्य विस्तार, बाह्य राज्यको आक्रमण, र राजनीतिक अवसर खोज्ने उद्देश्यले वसाइँ गर्ने गर्थे। नेपालको एकीकरणपछि प्रारम्भिक आन्तरिक वसाइँसराइ सुरु भयो। अङ्ग्रेज शासकसँगको सम्बन्धले यस प्रक्रियालाई प्रभाव पारेको थियो। यस चरणमा अतिक्रमित जमिनमा मानिसलाई बसाइँ गराउने कार्य भयो, जसले प्रशासनिक काम, खेतीपाती, वन फँडानी, र सडक निर्माणजस्ता कार्यमा सहयोग पुर्यायो।
२. दोस्रो चरण:
सन् १९५० को दशकपछि नेपालमा राष्ट्रिय उत्पादन पुनर्निर्माण कार्यक्रम लागू भएपछि आन्तरिक वसाइँसराइको दोस्रो चरण सुरु भयो। पहाडी क्षेत्रका मानिसलाई ठूलो संख्यामा तराई र हिमाली तराईमा पुनर्वास गराइयो। झापा, मोरङ, उदयपुर, चितवन, कैलाली, र कञ्चनपुर जस्ता स्थानहरूमा व्यवसायिक जग्गा कब्जा गराएर वसाइँ गराइयो। सन् १९५४ मा औलो नियन्त्रण कार्यक्रम लागू भएपछि पहाड र हिमालबाट तराईमा वसाइँ गर्नेहरूको संख्या उल्लेखनीय रूपमा बढ्यो।
३. तेस्रो चरण:
यो चरण नेपालमा सामाजिक र आर्थिक रूपान्तरणसँग सम्बन्धित छ। सन् १९५० मा प्रजातन्त्र आएपछि योजनागत आर्थिक विकास सुरु भयो। यसले व्यापार, शिक्षा, स्वास्थ्य, र रोजगारीका लागि मानिसलाई वसाइँ गर्न प्रेरित गर्यो। विशेषगरी ग्रामीण क्षेत्रका मानिसहरूले आर्थिक सुधारको अपेक्षामा पहाडबाट तराई र काठमाडौंजस्ता शहरी क्षेत्रतिर वसाइँ गरे। सहरीकरण र रोजगारीका अवसरले सस्त श्रमका मानिसलाई वसाइँ गर्न बाध्य बनायो।
४. चौथो चरण:
देशमा भएका १० वटा जनगणनाबाट आन्तरिक वसाइँसराइको प्रभाव प्रस्ट हुन्छ। गाउँबाट सहरी क्षेत्रतर्फ हुने वसाइँसराइले देशभर सहरीकरणलाई तीव्र बनायो। यसले आर्थिक, सामाजिक, र भौगोलिक क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याएको देखिन्छ।
यसरी आन्तरिक वसाइँसराइ नेपालमा समय र परिस्थिति अनुसार चरणबद्ध रूपमा विकास भएको पाइएको छ।
अन्तरप्रदेशीय वसाइँसराइ वारे छोटो चर्चा गर्नुहोस
नेपालमा सन् १९७१ देखि निरन्तर रूपमा तराई क्षेत्र आप्रवासीहरूको प्रमुख गन्तव्य स्थलको रूपमा देखिँदै आएको छ। सन् २०११ सम्म तराई क्षेत्रमा वसाइँ सर्नेमध्ये पहाडी क्षेत्रबाट ६५ प्रतिशत मानिसहरू आएका थिए, जुन सन् १९८१ मा ५६ प्रतिशत थियो। यसले देखाउँछ कि पहाडी क्षेत्र तराई क्षेत्रमा वसाइँ सर्ने व्यक्तिहरूको सबैभन्दा ठूलो उत्पत्ति स्थलका रूपमा रहेको छ।
त्यस्तै, पहाडी क्षेत्र आप्रवासीहरूको दोस्रो प्रमुख गन्तव्यस्थल हो। सन् १९७१ देखि २०११ को अवधिमा पहाडी क्षेत्रमा आउने आप्रवासी ६ प्रतिशतले वृद्धि भइ कुल २६ प्रतिशत पुगेको छ। यस वृद्धि दरमा महिलाको संख्या तुलनात्मक रूपमा धेरै (१४ प्रतिशत) रहेको पाइन्छ। तर, यो समयावधिमा हिमालबाट पहाडमा वसाइँ सर्ने आप्रवासीहरूको संख्या घट्दै गएको तथ्य पनि देखिएको छ।
अन्य क्षेत्रहरूबाट पनि पहाडी क्षेत्रमा वसाइँ सर्ने क्रम जारी छ। काठमाडौँ, ललितपुर, भक्तपुर, पोखरा, सुर्खेत, धुलिखेल, बनेपा, र अन्य सहरी क्षेत्रहरू पहाडी क्षेत्रमा वसाइँ सर्नेको प्रमुख गन्तव्य स्थल बनेका छन्।
यसरी, नेपालको अन्तरप्रदेशीय वसाइँसराइ व्यक्तिगत वा पारिवारिक छनौट र व्यवहारसँग गहिरो रूपमा सम्बन्धित रहेको देखिन्छ। आर्थिक अवसरहरूको खोजी, जीवनस्तरको सुधार, सामाजिक र सांस्कृतिक परिवर्तन, र विकासका क्रियाकलापहरूले वसाइँसराइका धार र दिशा निर्धारण गरेका छन्। साथै, भौगोलिक, यातायातको पहुँच, र तुलनात्मक आर्थिक लाभका कारण वसाइँसराइका गन्तव्यहरू प्रायः सुविधा सम्पन्न क्षेत्रतर्फ केन्द्रित भएको देखिन्छ।